वडा नं. ३ को संछिप्त परिचय |

नामाकरण:-
       कुनै पनि ठाउँको नामाकरणमा त्यस ठाउँको प्राकृतिक, ऐतिहासिक, भौगोलिक, धार्मिक, सामाजिक आदि विशेषको भुमिका रहन्छ । कुनै समुदाय विशेषका क्रियाकलाप तथा गतिविधिहरु पनि स्थाननामाकरणका कारक बन्दछन् । ऐसेलु, र खर्क दुईवटा नामपदको योगबाट बनेको ऐसेलुखर्क शब्दमा ऐसेलु शब्दले जङ्गली फल विशेष र खर्क शब्दले पशुजन्य आश्रय स्थललाई ईङ्गीत गर्दछ । “ऐसेलु” र खर्क दुवैको समुच्चयार्थ दिने ऐसेलुखर्कको नामाकरणको पनि आफ्नै पृष्ठभुमि भएको कुरा स्थानीयहरुले बताए, उनका अनुसार – हाल जुन ठाउँ ऐसेलुखर्कले चिनिन्छ बास्तवमा त्यो नै ऐसेलुखर्क होइन रहेछ । यो त ऐसेलुखर्क बजार (डाँडा) रहेछ । ऐसेलुखर्क बजार (डाँडा) वाट पर्ने  पुर्वतिरको गाउँ जहाँ राई समुदायको बाहुयल्यता छ  यथार्थमा त्यो ऐसेलुखर्क रहेछ । 
      त्यो गाउँलाई किन ऐसेलुखर्क भनियो त भन्ने विषयमा स्थानीयकोे भनाई यस्तो छ – “१९४० को दशकसम्म त्यसठाउँमा बस्ती बसेको थिएन । त्यो ठाउँ पुरै ऐसेलुघारीले ढाकिएको थियो । यसै क्षेत्रको हवौ, खार्ला, पारा, राखामा राई समुदायको बसोबास थियो । गाउँमा पशुहरुलाई घस्याउन गाह्रो भएपछि उनीहरु आफ्ना पशुहरु ल्याएर त्यसठाउँमा ऐसेलु घारी फाँडेर खर्क राख्ने गर्दथे । वर्षेनी यो क्रम चलिरन्थ्यो । कालान्तरमा खर्क र गाउँ गरिरहन गाह्रो भएपछि खर्क राख्ने मध्येका केहि त्यहिँ कटेरो बनाएर खेतीपाती गरी बस्न थाले र त्यसको नाम ऐसेलुखर्क रहन गयो । हालसम्म पनि त्यो ठाउँ पाइने ऐसेलुका बुट्यानहरुले समेत यो कुरालाई प्रमाणित गर्दछन् । अब प्रश्न उठ्छ हाल बजार रहेको ठाउँ चाहिँ के हो त ? यो त  वास्तवमा ऐसेलुखर्कमाथिको डाँडो हो । तपाई स्थानीय स्तरमै गएर झोला बोकेर उभो लागेको मान्छेलाई “कहाँ हिडेको ?” प्रश्न गर्नुस जवाफमा पाउनु हुन्छ  डाँडा तर के कुरा चाहिँ सत्य हो भने बजारसँग बस्ती जोडिन खोजेको डाँडा र ऐसेलुखर्क गाउँबीच निकटतम सम्बन्ध रहेको र राजनैतिक विभाजनमा वडाको नाम समेत ऐसेलुखर्क रहन भएको हुँदा हाल सबैको नजरमा परेको बजार क्षेत्र नै ऐसेलुखर्कले चिनिन्छ । 
यसर्थ के कुरा भन्न सकिन्छ भने ऐसेलुको घारी फाँडेर पशुहरुलाई खर्क राख्ने गरेकाले नै यसलाई ऐसेलुखर्क भनिएको हो । यो कुरामा धेरैको एउटै मत छ । 

ऐतिहासिक पृष्ठभुमि:- 
          यस वडाको ऐतिहासिक पृष्ठभुमि १३० वर्ष भन्दा पुरानो छ, यत्रो लामो ईतिहास बोकेर पनि विकास निमार्णको दृष्टिकोणले पछि पर्नु यो ऐसेलुखर्क वडाको मात्र नभई रावा उत्तरका सम्पुर्ण साविक वडाबासिहरुको दुर्भाग्यको कुरा होे । राणाशासनको समयमा १९३५÷३६ मा ओखलढुङ्गामा जङ्गी परेडको स्थापना भएपछि यस ठाउँलाई पनि राजनैतिक दृष्टिकोणबाट महत्वपुर्ण ठानी ओखलढुङ्गाको शाखाको रुपमा ऐसेलुखर्कमा जङ्गीअड्डा स्थापना भएको थियो । त्यस्ताका प्रशासन सञ्चालन गर्न वा गराउनका लागि प्रशासनिक संयन्त्रको विकास भएको थिएन । हुकुमी शासनकै भरमा दैनिक प्रशासन सञ्चालन हुन्थ्यो । राणाहरुाके एकछत्र शासनबाट जनताहरु त्रस्त थिए । समयान्तरमा राणा शासनको विरुद्घमा जनताहरु जुर्मुराउन थाले । आन्दोलनको कालोबादल नेपाली आकाशमा मडारिन थाल्यो । पुर्वमा पनि राणाहरुका अड्डाहरु कब्जा गर्ने क्रम चल्यो । यहि मौका छोपी ऐसेलुखर्कका स्व. पदमबहादुर राईको नेतृत्वमा भएको एक समुहले त्यहाँको सेनामाथि आक्रमण गर्यो । सेनापक्ष र पदमबहादुर पक्षबीच घम्साघम्सी भयो । सेनापक्ष कमजोर भएको महशुस गरी पदमबहादुरले सेनाकै पहरेदार सैनिकको हतियार (बन्दुक) खोसेर सेनामाथि आक्रमण गरी अड्डा कब्जा गर्न सफल भए । सेनाहरु तितरबितर भए, सम्पुर्ण हातहतियार खोसिए, बारुखाना कब्जा गरियो । पदमबहादुर यस क्षेत्रका लिडर हुनपुगे । 
आफु सर्वशक्तिमान भएको मौकाको फाईदा उठाउदै पदमबहादुर राईद्वारा माल अड्डा सेना भर्ती र विद्यालय खोल्ने कामहरु गरियो । डाँडामा वृहद टुडिखेल बनाउने उद्देश्यले टाढा टाढाका मानिसहरु समेतलाई आह्वान गरियो । हवाई मैदानका रुपमा विस्तार गर्ने उद्देश्यले खनिएको उक्त ठाउँ हाल पनि ऐसेलुखर्कमा टुडिखेलको नामले अवस्थित छ । हाल नेपाली सेनाको गुल्म रहेको उक्त ठाँउ सोलुखुम्बु जिल्लाका सोताङ, बुङ, छेस्काम, वाकु, जुबु र खोटाङ जिल्लाका ऐसेलुखर्कको छिमेकि गाउँ लगाएत लामिडाँड, हौचुर, खार्पा लगायतका गाउँबाट सातु सामल बोकि मानिसहरु आउने गरेको स्थानीय पाकाहरु बताउँछन् । वि.स. २०११ सालमा सेनाको पुनर्गठन भएपछि त्यस ठाँउमा केहि वर्ष सैनिक अड्डा रहेको पनि सुन्नमा आएको छ । 
वि.स. २००७ मा प्रजातन्त्र प्राप्तिपछि शान्ति सुरक्षा ध्यानमा राख्दै वि.स. २०१३ मा ऐसेलुखर्कमा प्रहरी थानाको स्थापना भयो । २०१६ सालमा ओखलढुंगा शाखाको रुपमा अदालतको स्थापना गरियो । त्यसैताका जेल निर्माण समेत भयो । वि.स. २०१६ मा जनस्वास्थ्यलाई ख्यालमा राख्दै हेल्थ सेन्टरको स्थापना गरियो । वि.स. २०१९ सम्म यो ओखलढुंगा जिल्ला प्रशासनको मातहतमा रहेको थियो । वि.स. २०२० मा मुलुकलाई ७५ जिल्लामा विभाजन गर्ने क्रममा ऐसेलुखर्क सोलुखुम्बु जिल्लामा गाभिन पुग्यो । यसरी गाभिनु नै ऐसेलुखर्कको ठुलो दुर्भाग्य थियो । यसरी ऐसेलुखर्क सोलुखुम्वु जिल्लामा गाभिईसकेपछि यहाँ भएका कार्यालयहरु सदरमुकाम सल्लेरीमा स्थापनान्तरण हुन थाले जस अनुसार वि.स. २०२० मा अदालत, वि.स. २०२५मा जेल र वि.स. २०३२ मा हेल्थ सेन्टर सल्लेरी सारिएपछि ऐसेलुखर्क नितान्त शुन्य भयो । यहाँका जनताहरु सेवा सुविधा र सहुलियतबाट बञ्चित हुन पुगे । वि.स. २०३२ को प्रशासनिक तथा राजनैतिक पुनर्गठनले ऐसेलुखर्क मात्र नभै यस क्षेत्रकै ईतिहासमा दोस्रो थप्पड मार्यो, कि सोलुखुम्बु जिल्लामा पर्ने १५ गाउँ पञ्चायत खोटाङ जिल्लामा गाभिन पुगे । यसबाट ऐसेलुखर्क जस्तो विकट क्षेत्र समेत सुगममा परिणत भयो । त्यहि समयमा दिम्मा पञ्चायत र ऐसेलुखर्क पञ्चायत एउटै भई ऐसेलुखर्ककोे नामले चिनिन थाल्यो 
     परिस्थिति र समयले ठगे पनि आवश्यकताले नयाँ नयाँ कुरा सिर्जना गर्दो नै रहेछ समयको अन्तरालमा फेरि पनि ऐसेलुखर्क व्युताउन खोज्यो यहाँको प्रहरी चौकि ई.प्र.का. (प्रहरी ठाना) मा परिवर्तित भयो, राष्ट्रिय वाणिन्य बैंक शाखा कार्यालय, कृषि विकास बैंक शाखा कार्यालय, ईलाका हुलाक, नेपाल खाद्य संस्थान डिपो कार्यालय, पशु सेवा शाखा, कृषि सेवा शाखा, रेञ्जपोष्ट, प्राथमिक स्वास्थ्य केन्द्र आदिजस्ता सरकारी संस्थाहरुको स्तरोन्नति र स्थापनाले ऐसेलुखर्कबासीको डढेलो लागेको आत्मामा विस्तार बिस्तार आशाका पिपिराहरु पलाउन थाले । 
        विधिको विधान भनौं या बिडम्वना वि.सं. २०५१÷५२ बाट थालिएको तत्कालिन विद्रोहि पक्ष नेकपा माओवादीको देशव्यापी बिद्रोहको असर यस क्षेत्रमा ०५६÷०५७ देखि प्रत्यक्ष रुपमा देखा पर्यो । सर्वसाधारणहरु सत्तापक्ष र विद्रोहि पक्ष बीचकोे दोहोरो मारमा परे यसबाट संस्थाहरु पनि प्रभावित नुहेन कुरै थिएन । जनताहरुसँग प्रत्यक्षत ः सरोकार राख्ने ई.प्र.का, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, खाद्य डिपो जस्ता संस्थाहरु सुरक्षाको कारण देखाई सदरमुकाम केन्द्रिकृत भएपछि ऐसेलुखर्कको यसरी चीर हरण भयो । जसरी कौरवले भारी सभामा द्रौपदीको चीरहरण भएथ्यो । 
       यसबीचमा ऐसेलुखर्कमा धेरै दुःखद् घटनाहरु पनि घटे जसलाई यसको ईतिहासमा नसमेट्नु अन्याय हुन जान्छ । त्यो के भने तत्कालीन विद्रोहिपक्ष (माओवादी) र सत्तापक्ष (तत्कालिन शाही नेपाली सेना) बीच यहि वडाको वडा नं. ५.६ को सिमावर्ती क्षेत्र झुले डाँडामा दुई दुई पटक दोहोरो भिडन्त भयो । पहिलो भिडन्तभन्दा दोस्रो भिडन्त निकै दर्दनाक थियो । दुवै पक्षका नेपाली दाजुभाईको रगतले ऐसेलुखर्क मुछियो । ऐसेलुखर्कले भौतिक क्षति बेहोर्नु नपरे पनि ठुलो मानसिक यातना  भोग्यो । आत्मवलीदानीको अगाडि मानसिक यातना त केहि होईन यहाँ जोड्न यहाँ जोड्न खोजेको प्रसङ्ग के भने विभिन्न किसिमका ऐतिहासिक घटनाक्रमको सामना गर्दै आएको ऐसेलुखर्क सबैका नजरबाट ओझले पर्नु पनि आफैमा ईतिहास बनेको छ । 
        विद्रोहि पक्ष र सत्ता पक्षको दोस्रो भिडिन्तसँगसँगै ऐसेलुखर्कमा नेपाली सेनाको बेसक्याम्प स्थापित हुन पुग्यो । साथसाथै ईलाका प्रहरी कार्यालय पुन ः स्थापना भयो तर रा.बा. बैंक, कृषि विकास बैंक, खाद्य डिपो जस्ता सर्वसाधारणलाई प्रत्यक्ष राहत पुर्याउने अन्य संस्थाहरुको स्थापनार्थ ऐसेलुखर्कले सदरमुकाममा डेलिकेशन अभियान चलायो, सम्बन्धित कार्यालमा ज्ञापनपत्र बुझायो परिणामत ः खाद्य डिपो पुनः स्थापना भए पनि बैंकहरुको विषयमा कसैको कानमा बतास नलाग्दा साविक ऐसेलुखर्क वडामात्र हैन रावा उत्तरका सबै वडालगायत सोलुखुम्बु जुबु,लोखिम,बुङ, छेस्केम, सोताङका बासिन्दाहरु हतास भएका छन् । 
भौगलिक अवस्थितिः– 
         वडा नं. ३ ऐसेलुखर्क २७० २०’ ३०” देखि २७० २३’ ४०” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४४’ ०” देखि ८६० ४७’ ४५”  पुर्वी देशान्तर सम्म रहेको छ । 

सिमानाः–
       यस वडाको सिमाना पुर्वमा १ नं. वडा राखावाङ्देल, पश्चिममा ५ नं. वडा महेश्वरी, उत्तरमा २ नं. वडा वाकाचोल र दक्षिणमा  ७ नं. वडा माक्पा  पर्दछ । 
क्षेत्रफलः– 
    यस वडाको क्षेत्रफल  १८.९४ वर्ग कि.मि. तथा १८९४.१४ हेक्टर रहेको छ । साथै उचाई २०७० मि. रहेको छ ।

हावापानी :-
        यस साविक वडाको हावापानी विषमतापुर्ण छ । यस वडाको तल्लो भाग बेंसी तथा खोच पर्दछ त्यहाँको हावापानी उष्ण छ  भने मध्ये भागको हावापानी समशितोष्ण प्रकृतिको पाईन्छ त्यसै गरीे माथिल्लो भागहरुमा ठण्डी याममा कुनै कुनै वर्ष हिउँ पनि पर्ने हुँदा यहाँको हावापानी निकै चिसो छ । 
ऐसेलुखर्क बजार क्षेत्रको धरातलीय स्वरुप शिरकट्टा भएको हुँदा पुर्वमा चिलिमढुङ्गा र पश्चिममा सोलुखुम्बुको सल्यानदेखि चल्ने चैत्र – बैशाखको आँधीबेहरीले यहाँ कहिले काहीँ नराम्ररी आक्रमण गर्दछ । आश्विन महिनादेखि बढ्न थालेको चीसोपन पौष महिनाको अन्तसम्ममा पराकाष्टाम पुग्दछ र माघ १५÷५० देखि ओरालो लाग्न थाल्दछ । पौष र माघ महिनामा पीठो छरेजस्तो तुषारो पर्दा बजार क्षेत्र र त्यसको समीपवर्ती भुभागको जनजीवन कष्टप्रद समेत हुने गरेको छ । 

प्रमुख व्यापारिक महत्वका स्थानहर ः–
       यस ऐसेलुखर्क गाउँपालिकाकै प्रमुख व्यापारिक स्थानमा वडा नं. ३ मा रहेको ऐंसेलुखर्क बजार हो । यहाँ हप्ताको एक दिन शनिवारे हटिया लाग्दछ । यो स्थान ७ वटै वडा लगायत सोलुखुम्वु जिल्लाको जुवु, लोखिम, कुरिमा, सोताङ गुदेल लगायतका क्षेत्रहरुको व्यापारिक केन्द्र पर्दछ ।

प्रमुख नदीहरु तथा खोलानालाहरु:-  
   ष्० लिदिङ्ग खोला, 
  ष्ष्० चाङ्ग खोला र
  ष्ष्ष्० वाङ्गखोलाले 
     माथिका नदि तथा खोला नालाबाट ३ न. वडा ऐंसेलुखर्कमा आंशिक भुभाग सिंचाई, माछा मार्ने, लघु जलविद्युत बाट विजुलि उत्पादन गरी वितरण गर्ने प्रयोजनमा प्रयोग भएको छ ।
स्थानीय पर्यटकीय स्थलहरु
क्ष्।    गीरखेल्ने डाँडा 
क्ष्क्ष्।    स्याङ्ल्याङ डाँडा 
क्ष्क्ष्क्ष्।    बोझेघारी 
क्ष्ख्।    बगाले चौतारा 
प्रमुख धर्महरु:-
      यस वडामा हिन्दु धर्म, वौद्ध धर्म, किरात धर्म र क्रिश्चियन धर्म मान्ने मानिसहरु  रहेका छन् ।

प्रमुख जात जातिहरु:-
        ३ नं. वडा ऐंसेलुखर्कमा क्षेत्री, ब्राहमण, तामाङ, नेवार, कामी, राइ, गुरुङ, दमाइ, संयासी, शेर्पा, भुजेल, सुनुवार आदि जातिहरुको वसोवास रहेको छ ।

उच्च शिक्षा तथा विद्यालय :-
        यस ३ नं. वडामा ७ वटा प्रारम्भिक वाल विकास केन्द्र, ४ वटा प्राथमिक विद्यालय, २ वटा आधारभुत विद्यालय ,  १ वटा माध्यमिक विद्यालय  रहेका छन् ।